Friday, July 10, 2009

गीत

खोजिन की तिम्ले हाँस्ने सुन्दर बन पाखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

कोरिबाटि चुलठिमा तिम्ले माया राखेजस्तो
ताराबाजी, चिमुसिमा तिम्ले माया साचेजस्तो
सकिन की पढि बस्न तिम्रा तिखा आँखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

यात्राका पदचापमा तिम्रो प्रीत खोजीहिडे
हावाका बेगहरुमा तिम्रो गीत बोकि हिडे
भेटिन की सुस्केरामा तिम्रा मनका खाकाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु ।

खोजिन की तिम्ले हाँस्ने सुन्दर बन पाखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

Thursday, June 25, 2009

धरापमा जिन्दगी

लामो समय भैसकेछ मसिको दागले सेतो क्यान्भासमा नरंगाएको पनि । चर्को गर्मी संगै पलाएको अल्छिपनाको कारण ब्लगमा नयाँ कुरा राख्ने समय पनि खुस्कीएर दुइ हप्ता पुगिसकेछ यद्धपि साथिहरुको घर दैलोमा भने लटठी टेक्दै भएपनि धाउने गरेको छु बेलामौकामा । आज फेरि गुम्सिएर बसेका मनभरिका भावनाहरुलाई ब्लगमा पछारेर मनको भारि हल्का बनाउने प्रयासम छु ।

''मन त मेरो नेपाली हो" भन्ने मुखारित वाक्याङसलाई काफी राष्ट्रीयताको धडकन सम्झेर, धर्ति प्रतिको आगाध मायालाई कुल्चेर अगाडि बढेको बिदेश प्रतिको मोह नेपाली हरुको लागि दैनिकी जस्तै भै सक्यो आज भोलि । लाखौ पौरखि हातमा लुकेका प्रतिभा र युवा जोश संगै तन्किनु पर्ने अमुल्य बिचारको डोरी तथा नव सृजनाका सूत्रधारहरु ओझेलमा परेको ओसेपको पात जस्तै खुम्चिएर पलायन भएका छन । तितो राजनैतिक खिचातानिको गतिले तिब्रता लिदै गैरहेको छ । सिंगो देशमा नैतिकताको कदर छैन । सक्नेहरु नसक्नेको बुई चढेर रमाउदैछन भने निमुखाहरु उनैको पोषीलो आहार बनिदिन बाध्य छन । सामाजिक जनचेतना फैलाएर स्वणिर्म नेपालको कल्पना गर्नेहरु बत्तिमुनिको अध्यारो भएर बस्नु परेको छ भने समाजलाई नयाँदिशामा रुपान्तरित गर्छु भन्नेको हात सिधा साधा निमुखाको घाँटीमा बज्रन पुगेको छ । देशमा दन्डहिनता, अराजकता र अमानबियताको जरोले मौलाउने अवसर पाएको छ फलस्वरुप हामिजस्ता लाखौ परदेशिहरुलाई हेरिने बिदेशिहरुको नजर भोका नाङगा र माग्नेहरुको कथाको पात्रमा पुग्छ । महिना बित्यो, बर्ष बित्यो, अबत केहि होला र यो बिदेशि मटोलाई लात मार्दै गुन्टो कसौला भन्दा भन्दै आखै अगाडि परिस्थिति झन बिकराल हुदै उभिएको छ । जति सुकै सुख सुबिधा र सन्तोषको भाग पोल्टामा परेपनि यो मनले कहिल्यै बिदेशि माटो संग मित लगाउन नसक्ने रहेछ, अझै आखाँभरि छचल्किएका आफ्नै सहयात्री र समकक्षिहरुको पिडा र बेदनाका घाउहरुले औपचारिक मलम नपाउदा मन तितो भएर आउछ । त्सैले अक्षरिय हिसाबले भन्नु पर्दा यस्लाई धरापको जिन्दगी नै भन्न मन लाग्यो मलाई ।

आखिर पैसा सबै थोक होइन । धनले भौतिक बस्तु जोडन सकिएपनि प्राकृतिक र मानबिय बस्तु किन्न सकिदैन भन्ने भावनालाई पनि धारापमा पार्न लागिसक्यो यो युग संगै दौडिएको मानवले । बाँच्नको लागि संघर्स झेल्दै क्षितिजमा गर्धन राखेर रेटिनु पर्ने आखिर किन ? त्यहि मनिस मानिस बिचको बिभेद, धनि गरिबका बिचमा तेर्सिएको बिशाल पर्खाल र गरिबि लाई अछुत र रोग ठान्ने दूराचारि सोचलाई अलिकति भएपनि कम गर्नको लागि त हो । हुन त रित्तिएर भावना बाँडनुको अर्थ नै के हुन्छ र ? उन्नत समाजमा यि कुराहरुको मात्रा निकै कम छ ।आकाङक्षाको फेदिबाट कल्पनाको उचाई नापेर बिजय हासिल गर्न खोज्ने म जस्ता लाखौ पौरखि नङग्राहरुको सफलताले कति हद सम्म पूर्णता पाउला ?

थाहा त भएकै कुरा हो जन्मनु ,उमेरदार हुनु, बुढ्यौली पर्खर्नु र मर्नु नियमित प्रकिया हो अनि जिवन भनेको लहराउनु मौलाउनु संघर्शमा कहराउनु र बिरक्तिमा बहलाउनु पनि कुनै नौलो कुरा होइन । बुझेकै भरमा ब्यतित गर्नुपर्ने यो मरुभूमिको बालुवामा भुत्ते भएर मठारिएको मनमा अनयासै छोइदिने सम्झनका झिल्काले त मुटु भराउछ भने पलपलमा उठने सम्झना र कल्पनाका भरमा आफ्ना बेदनाका तमाम अनुभूतिहरुको लेखाजोखा गर्ने सामर्थ्य नै कहाँ मिल्छ र ? फगत पराई माया र मातृभुमिलाई अघाउन्जेल सम्झेर रोदन र बनावटि खुसिलाई मुहारमा अवतरण गर्नु सिवाए बिकल्प छैन । यो कहालि लाग्दो क्षितिजको बजनदार ढुंगामूनि चेप्टिएको कहालिलाग्दो बर्तमानलाई के थाहा स्मृतिको उज्यालो दिनले एक्कासी बिस्मृतिको अधेरो कालरात्रीलाई ननिम्त्याउला भनेर?तर किन ब्यर्थै चिन्तित हुन छ र । बाँचुन्जेल असाहय बनेर छटपटिदा फर्केर नहेर्ने मानवले मरिसकेपछि गोहिको आशु झार्न् पछि नपर्ने संग के गुनासो गर्नु ।

खडेरि ग्रस्त बाँझो खेतमा बिस्वासको पर्खाल उठाएर प्रेमको उपासना संगै आलस्य र शुन्यताका कडिहरुलाई स्फुर्ति र गुन्जायमन बनाउने सोच आखिर भ्रम नै रहेछ । बोँझिला र उराठिला दिनहरुमा बसन्तले मुस्काउन नपाउनु ,नियास्रा र पट्टाइला रातहरुमा सुन्दर सपनाले बास नपाउनु र छटपटिको पिडा र यातनको सिरानिमा आशाको किरणले प्रहार नहुनु नै नैराष्यताको प्रमुख जड हुने रहेछ मातृभुमिरहित जिवन । साच्चिकै धराप जस्तो ।यस्तै घेलिएका शब्द खेलाउदै जादा अधूरो गजल पनि फुर्न गएछ ।

बन्द शिशिमा मादकताको शराबमा जिन्दगी
लाचार मौनताको प्रताडित जवाफमा जिन्दगी

अर्थहिन र गुमनाम परिबेशको दूलो भित्र
चारो फ्याक्नेहरुको हुकूमे रवाफमा जिन्दगी

बिरक्तिएको टुहूरे मनमा सधै आमा -आमा
पुकार्दै कराएपनि धर्तिको सरापमा जिन्दगी

परिबन्धको खोल भित्र गुम्सिएका रहर खोज्दै
अनन्तको क्षितिज भित्र धरापमा जिन्दगी

समयको चक्र घूमेको घुम्यै छ अनवरत रुपमा । मनका बिरोधभाषहरुले गालेका गाल्यै छन । कोपिलाबाट फूल हुदै मानिसमा मौलाउने र लछारिने क्रम जारि छ । चर्किएका हाँगाहरुमा समातिएका औलाहरु कतिबेला गल्ने हुन था छैन । बिदेशिको रुग्ण हेराइको डकार कहिले मेटिने हो ? खडेरिले खग्रास पारेर चर्केको जमिनमा श्रमशिलताको बिरुवाले फक्रीने दिन कहिले आउने हो ? आदर्शको आवाज उराल्दै हातमा हात मिलाएर धर्ति संग बज्रलेप भएर टाँसिने कहिले ? यि सबै अनुत्तरित प्रश्नहरुको बिचमा क्षितिजको दोभानमा साँघु टेकेर कहिलेसम्म बाँच्नु धरापै धरापमा ?

Wednesday, June 10, 2009

अपराध र कानुनी मृत्युदण्ड- (EXCLUSIVE)

मातृभुमिको माया र आमाको कोख कस्लाई पो प्यारो हुदैन होला? धर्तिको माटो र गाँउघरको बाटोलाई माया मारेर चिप्लिएका पाइलाहरुले करिब आधा दशकको सेरोफेरोमा मरुभुमि संगै मित लगाइसकेछन । धेरै लामो लाग्ने यो समयको कुन्जनभित्र रुमल्लिएका तिता मिठा कुराहरुलाई अवतरण गर्ने मैदान बनेको छ गोरेटो मेरो लागि आजभोलि । यो लामो समयमा धेरै कुराको अनुभव बटुल्ने अवसर त पक्कै मिलेको हो तर कति सकारात्मक रुपमा उभिए र कति निराशामा कुडिए भन्ने कुराको लेखाजोखा गर्न लाई त कुनै सिंगो दिनलाई अगालो मारेर बस्नु पर्ला कुनै दिन त्यसैले प्रसंगकै ढोका खोल्नु नै राम्रो लाग्यो अहिलेलाई

सायद साथिहरुलाई पनि थाहा भएकै कुरा होला बिश्वको कडा कानुनको नम्बरि ताज पहिरेर बसेको KSA मध्यपुर्बमा रहेको खाडिक्षेत्रको साढे नै होला भन्दा पनि फरक नपर्ला । कानुनको हिसाबले बाहिर जति नै कठोर र जटिलता देखिएपनि आन्तरिक बिसंगतिहरु त्यति नै मात्रामा बिराजमान भएर बसेका छन यहाँ तर रोजगारिको हकमा भन्दा सुनिने भनिने जति कस्टकरका बिषयहरु छन त्यो भन्दा धेरै सरल छ यहाँको जिवन । यस्लाई पनि कुनै दिन सजाउला गोरेटोमा ।
करिब ६ महिना अगाडि रियादको एक् ठाउमा सउदि महिलामाथि बलात्कार भएको खबरले खाडि क्षेत्रमा तहल्कै मच्चायो । घटना अनुसार एकल महिला माथि भएको सामुहिक बलात्कारमा संलग्न अभियुक्तहरु बंगलादेशका नागरिक भएको जानकारि भएको छ । अभियुक्त हरुले करणि संगै भिडियो पनि रेकर्ड गरेका हुनाले त्यसैलाई आधार बनाएर रियाद पुलिसले उनिहरुलाई पक्राउ गरि फासिको सजाए सुनाएको थियो । सजएको रुपमा दिइने फासि यहाको लागि सामान्य हो । चोर्नेलाई हात काटने, कु दृष्टि हेर्नेलाई आँखा फुटाउने तथा हत्या र ब्लात्कारको बदला हत्या बाटै लिइन्छ यहाँ त्यो पनि सार्वजनिक ठाँउमा ।

प्रस्तुत छ उक्त घटनामा संलग्न अभियुक्त हरुलाई दिइएको फासिको सजायको भिडियो
भिडियो हेरेपछि यो सजायको परिपाटिको बारेमा आफ्नो राय ब्यक्त गर्न नभुल्नु होला ।

video

Sunday, May 24, 2009

माया र टाढाको मन (गजल)

छटपटिको यातनामा मुटु साट्यौ की
चुडि जाने डोरि जस्तो माया बाट्यौ की


अतितको सम्झनाले सपनिमा झस्काउदा
बाचाहरु बिर्सिएर आफैलाई ढाट्यौ की

प्रीत फुल्ने सपनामा छोडि आए कोपिलामै
ओइली जाने फुल सम्झि जरा फाट्यौ की

बन्धन्, बाध्यतालाई बेवास्ताको गाँठो सम्झि
रंगी-चंगी संसार खोजि मयुर नाचयौ की

बिते होलान बर्षहरु आशा संगै पर्खाइमा
तर आँसु पिउदा पिउदै रात काट्यौ की ?

Wednesday, May 6, 2009

न बिर्से तिमिलाई....

मातृभुमिको माया र नेपालिपनको गौरवमा शिर ठाडो पारेर बिश्व सामु सगरमाथको ताज पहिरिएर हिडेका हामिहरुको राजनैतिक खिचातानिको कारण सबैकुरा भएर पनि केहि नभए जस्तै भिखारिको चालमा हात फैलाउदै हिडनु परेको छ । गतिछाडा र पथभ्रष्ट राजनितिको लहरोले मौलाउने मौका पाएको देशमा फेरि अब कुन संकटको घडिले बेर्ने हो थाहा छैन । त्सैले यो मनलाई शान्ति दिलाउने क्रममा गीत गजल अनि संगीतका कर्णपृय स्वर र शब्दहरुको भावनासंग उठिबस गर्नु नै उत्तम् होला जस्तो लाग्यो । यसै क्रममा एउटा मिठो गजल फेला पारे यु टियुब बाट । अन्जु पन्तको सुरिलो स्वरमा सजिएको यो गजल सुन्दा लाग्छ मनमा कुनै भोक सुर्ता छैन । दुई मायालुको मिठो अतितको मिलनलाई बर्तमानले आत्मसाथ नगरेपनि मनको सम्झनाको बाँधलाई सपनिमा आंगालेर भएपनि उसैको यादमा भिजाएका आखाँहरुको बिहोसिलाई मार्मिक अनि ज्यादै सरल पारामा लेखिएको यो गजल तपाइहरुलाई पनि बाँडन लागिरहेको छु तर यस्तो मिठो गजलमा देखेको भिडियोले चाहि मनमा अलि खल्लो महशुस भएर आयो । नेपालि गजलमा हिन्दि गीतको भिडियो तैपनि अलि उताउलो पाराको लाग्यो मलाई । या त यु टियुबमा राख्नको लागि त्यसो गरेको हो या के कारणले हो ? थाहा भएन । अनि थाहा भएमा प्रस्तुतिकर्ता र संगितकारको पनि जानकारि दिन नभल्नुहोला । समय छ भने हेर्नुहोस तलको भिडियो अनि भन्नुहोस तपाइहरुको बिचार ।


न बिर्से तिमिलाई न पाए तिमिलाई
बिना अर्थ दिलमा सजाए तिमिलाई

त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेटन बोलाए तिमिलाई

आयौ समिपै जब तिमि निदरिमा
यो हलचल यो धडकन सुनाए तिमिलाई

रमाएर एकैछिन पछि आँशु झ-र्यो
अनि आँशु पुछदै पठाए तिमिलाई

भयो आश रित्तो र यो मन निराश भो
अनि बेहोसिमै कराए तिमिलाई


अनायासै मेरो दुख्यो जिन्दगिमा

परेलि भिजाई बगाए तिमिलाई

video

Saturday, April 25, 2009

चुनाव र नेता

चुनाव नजिकै आइरहेको छ । यत्रतत्र नेताहरु चुनाबको प्रचार प्रसारको लागि गाउँ-गाउँ जाने क्रम बढदो छ । आ-आफ्ना कार्यकर्ताहरुलाई चुनावको तयारिका लागि अंशबंडा गर्दै नेताहरुले भाषण गर्दै हिडने क्रम् जारि छ।

खोयागाउँ बिशेष गरि दलितहरुको बस्ति भएको ठाउँ। शिक्षा, स्वास्थ्य र बिकासको नामबाट अलि टाढै परेको छ यो गाउँ बाबु-बाजेका पाला देखि नै । प्रत्येक पटकको चुनाबमा नेताहरुले बिकासको आश्वासन दिदै जाने तर गर्न चाहि केहि नगर्ने बुझेर गाउलेहरुले यसपटक जो आएपनि भोट नदिने उल्टै लखेटेर पठाउने सल्लाहमा बसेछन । चुनाव आउन केहि दिन मात्रै बाँकी छ । पहिले जस्तै नेता पुगे खोयागाउँमा । नेता भन्ने बितिकै रिसले आगो हुने गाउँबासिहरु आज अलि बेग्लै मुद्राम देखिए । सुन्दै गए नेताहरुको खोकाई । नेता भन्दै थिए । "गाउले हरु बर्षौ भयो यो खोयागाउँमा अन्धबिस्वास, अशिक्षा र गरिबिले बास गरेको । जस्लाई तपाइहरुले भोट दिएर बिजयि बनाई पठाउनुभयो तिनिहरु आज शहरका ठुला-ठुला महलहरुमा बिन्दास जिवन बिताइ रहेका छन । हेर्नुस म तिनिहरु जस्तो हैन । यदि मलाई तपाइहरुले जिताउनु भयो भने म यो गाउँलाई नमुना गाउँ बनाउने छु । बिजुलि पानि बाटोमात्रै होइन बर्षौ देखि चलि आएको यो जात भात, छुवा छुत र मानिस प्रतिको अपहेलनालाई जरै देखि उखेल्ने छु । म तपाइहरुलाई बचन दिन्छु ।अब तपाइहरुका दिन आए । मेरो प्रमुख लक्ष भनेको तपाइहरु जस्तो उत्पिडन अनि दलित भनेर पछि परेका बर्गको उद्धार गर्नु हो" । आफ्नो गाउँमा आएका नेताको यस्तो कुरा गरेको सुनेर गाउँले हरु छक्क परे । हैन साथिहरु हो यि त असल नेता रहेछन अब चाहि हामि यो खोयागाउँ भनेर हेपिएर बस्न पर्दैन भनेर एक अर्काप्रति कानेखुसि गर्दै रमाउदै परररर तालि पिटदै जोसिन पुगे । नेतामाथि फूलमाला बर्षाउदै बडो सम्मानका साथ भोट दिने वाचासहित बिदाई गरे ।

कार्यक्रम सकियो सबैले नेतालाइ बडो भब्य तरिकाले बिदाइ गरे । नेता गाडिमा बसे । ड्राइभरले गाडि चलाउन शुरु गरे अलि पर के पुगेका थिए एउटि दलित महिलाले पानिको गाग्रो सहित आउदै थिइन। नेताको मुखबाट प्याच्च निस्कियो


"हिडने बेलामा बाटो काटी कमिनिले साइतै नपर्ने भयो "

Sunday, April 12, 2009

शुभकामना

छंग छंग गर्ने झरना संगै
सरर बग्ने पवन संगै
आनन्दको अनुभुति गराउदै
आयौ नयाँ बर्ष तिमि

अशुद्ध आत्मालाई शुद्ध तुल्याउदै
प्यासी आँतलाई तृप्त पार्दै
सत्प्रेरणाको अनुयायी बनेर
ईच्छाशक्ती गति बढाई
अनाबृष्टिमा पुष्पबृस्टि गराउदै
चम्क तिमि नयाँ बर्ष

झुल्के प्रेमका शब्द लिएर
बिष होइन अमृत पिलाई
पाप होइन पुण्य दिलाई
काँडा होइन फूल फुलाई
हरेक युगल जोडि बिच
चन्द्र बनि उदाउ नयाँ बर्ष तिमि।

सुषुप्त रहेका प्रतिभाहरुलाई
अथक सृजनाको प्रेरणा दिदै
हुरि बतासको बेगलाई उछिन्दै
कर्मको दियो अटुट बाल्दै
सबैमाझ माधुर्य मैत्रीभावको
आलौकिक रोशनि फैलाउदै
आउ नयाँ बिहानि लिएर
तिमिलाई मेरो शुभकामना ।

सम्पुर्ण ब्लगर मित्रहरु, पाठक र देश-बिदेशमा रहनुभएका नेपालिहरुमा नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना सहित सुख सम्बृदिको कामना गर्न चाहन्छु ।

Wednesday, April 1, 2009

युवा

बेइमानिलाई मज्जाले लात दिनु युवा
जिवनमा दु:खीलाई साथ दिनु युवा

अदनाको बेदनालाई लत्याउन खोज्नेलाई
उपकारका सुत्रधारको खात दिनु युवा

पिडकहरुको घाउलाई सदाचारि सोच बोकी
प्यासि लाई तृप्त पार्ने बात दिनु युवा

परिश्रमी हात अनि बिरताको निशानीमा
सम्मान गर्ने मानवताको जात दिनु युवा

खडकीएको तिम्रो जोश छर्दै कुना कुना
राष्ट्रलाई पौरखि ति हात दिनु युवा

Thursday, March 19, 2009

गीत

बाहिर ठिक्क भित्र दिक्क मैले पनि सिकीसके
माया बनि घोच्ने काँडा मुट बाटै झिकीसके

नचाहदै विवशताले खुट्टा मेरो अडेको थ्यो
तिम्रो नामको बिषालु काँडा छाती भित्र गडेको थ्यो
आँखा तर्दै प्रेमी फेर्ने खेल तिम्रो देखिसके
चर्केका ती छिद्र सबै मदिराले सेकिसके

खोला नाला तर्दा सधै मेरै हात लिन्छु भन्थ्यौ
औसी राखी आफै संग पुर्णेको रात दिन्छु भन्थ्यौ
भुत बिर्सी भबिष्य कोर्ने नयाँ सुत्र भेटिसके
तिम्रो नामको प्रेम डायरी जुनिभरलाई मेटिसके

मन मन्दिरको देउता सम्झी आत्माभरी साँच्छु भन्थ्यौ
चिताको त्यो ज्वाला भित्र तिमिलाई नै रोज्छु भन्थ्यौ
भक्त बनि उपहास गर्ने देउता अन्तै सारिसके
नौनी जस्तै कोमल मन कठोरताले बारिसके

Thursday, March 12, 2009

हुक्का चिलिम.. ब्लगर संग ब्लगरको फिलिङ..

आज बुधबारको दिन बिहानै देखि आलस्य र आल्छिपना महशुस भैराखेकोछ। सधै कम्प्युटरमा इण्टरनेटको त्यन्द्रोमा मात्रै कति झुन्डिएर बस्ने? मनमा यस्तै कुराहरु खेलाउदै अल्छिको भारी मनलाई जागरको नाम्लोले उचाल्दै फेरी तिनै की बोर्डमा हात राख्न पुगे। एकताका खुबै बहस भएको थियो अल्छिपनाको चिरफार गर्ने कुटिकी कैलाश को आँगनमा । सबैका बिचारहरुलाई समेट्दै मिठो खाजा पस्किनु भएको थियो उहाले । सधै झै मेरो आलस्यलाई भगाउन केही क्षण साथिसंग रमाइलो गर्न भनि च्याट रुमको ढोका ढक्ढक्याउन पुगे।

यताउता साथिहरु संग कुराको सुरुवात गर्दै थिए भोजपुरे ब्लगका मित्र चन्द्र जी को आँगनमा ट्वाक्क बत्ति बल्यो । राम्रै संयोग परेछ क्यार। नेपाली शिष्टाचारको लगाम समाउदै स्वागतयोग्य नमस्करको सुरुवात संगै मिठो कुराकानि भयो । समयको पाउबन्दिले गर्दा छोटो गन्थन पछि फेरिभेटने बाचासहित छुट्टियौ । एकैछिन पछि साथिहरुको ब्लगमा छिर्दै जाने क्रममा संगमको चौतारीमा पाइला मात्र राखेको थिए उहा पनि त्यहीको शितल हावामा आल्छि र आलस्यको बोझीलोलाई कसरी कम गरने भन्दै राहतको खोजीमा हुनुहुदोरहेछ। हाम्रो त फेरि कर्मथलो पनि एउटै । संगै भएर पनि लामो समय सम्म तारमा गुजुल्टीएर रहेको हाम्रो साइनोलाई एउटा अबिष्मरणिय दिनको सृजना गर्ने हेतुले उहाँ समक्ष आजको दिन घुम्न जाने कसरतका साथ निम्तो दिए एकै बचनमा सहर्ष स्विकार गर्नु भयो एउटा निश्चित गन्त्ब्यलाई पछ्याउने बाचासहित लाग्यौ आ-आफ्नो तयारीमा । लामो समयको अन्तरालपछि भएको चौतारी र गोरेटोको भेटघाटलाई तिब्र बनाउने मनसाय सहित बढेको पाइला अन्तत यथार्तमा परिणत भयो नै । त्यसैका केहि झलकहरु

म बिरेन्द्र र संगम

हैन कति रमाएको बिरु त


त्यहाँ कार्यरत साथिहरु संगै म

चौतारीका संगम

आहा ।। कति फरासिला अनि मनका धनि हुनुहुदोरहेछ । चौतारीका शितल हावाले झै मनै शितलो पार्ने । हेर्दा पनि अति भलादमी अनि शिष्ट लाग्ने । शारिरिक बनावट पनि खन्दानी लाग्ने। नसोचेको कुरै भयो । जहाँ ईच्छा, त्यहाँ उपाए भनेझै करिब ७ महिने हाम्रो बिधुतिय सम्बन्धको ब्लगिङ यात्राले पुर्णता पाएरै छोडयो। संगमजीको साथैमा पाल्नुभएका भक्तपुरका मित्र पनि साह्रै नम्र स्वावलम्बी अनि उच्च बिचारका हस्ति हुनु हुदोरहेछ। आ- आफ्नो ब्यक्तित्वलाई एक आर्काबिच रुपान्तरण गर्दै मिठो कुराकानि सहित हाम्रो गन्तब्यलाई डोरयाउदै हुत्तियौ टेक्सी मार्फत ,खास गरी आजको हाम्रो योजना भनेको रियाद स्थित danya coffee shop मा गएर नेपाली परम्परामा बुढापाकाहरुले तान्ने तमाखु सहितको हुक्का लाई स्मरण गर्दै नयाँ नौलो स्वाद लिनु थियो । बिशेष गरी यहाँका स्थानिय र मध्य पुर्बको मानिसहरुको लागी भेट्घाट र मनोरन्जन प्रदान गर्ने उद्देश्य लिएर खोलीएका यस्ता कफी सपहरुमा weekend मा त निकै भिडभाड नै हुने रहेछ। निशुल्क प्रबेश तर १८ बर्ष भन्दा माथि उमेर भएका लागी मात्र खुल्ला रहने ।

करिब करिब २ सयजति कोठाहरु प्रत्येकमा T.V.सहितको अत्याधुनिक सुबिधा। एकै कोठाबाट अरुलाई पनि मज्जाले नियाल्न सकीने कृतिम हरियालीको साथै VIP.कोठाहरुको पनि ब्यव्स्था । ओहो.. कस्ता थरिथरिका बनावटमा सजीएका मनमोहक हुक्काहरु, मन नभएपनि तानु तानु लाग्ने । झ्वाट्ट याद आयो गाँउघर तिर बुढापाकाले चिलिममा कोइला राखेर गडरर गडरर गर्दै बेस्सरि तानेर ब्वाङ्ग धुँवा उडाएर हामी केटाकेटी हुदा जिस्कीएको कुरा । मेरा सहयात्री संगमलाई फेरि शेर्पेनि दिदिको भट्टिमा तुम्बा र तिनपानीको रंगिन झझल्कोको याद आयो रे ।सहयात्री मध्य दिवाकर र बिरेन्द्र ले पनि आफुहरुलाई अत्यन्तै रमाइलो अनुभव भएको सुनाउनु भयो । रमाइलो कुरा त के भने coffee shop मा ग्राहको सेवामा खटिनु भएका weater साथिहरु पनि नेपाली नै हुनु भएको ले हाम्रो यात्रा झन् उत्साहित र रमाइलो हुन पुग्यो ।

हुन त म पनि चुरोट पीउदिन तर पनि नयाँ ठाँउमा पुगेपछि पाइने नयाँ कुराको स्वाद लिन भने मनै पर्छ । मन फुकाएर तानियो त्यो दिन । म र संगम जी को त बाजी नै प-र्यो कसले बढि तान्ने भनेर ? यात्राका साथिहरु भने धुँवा भने पछि अलि टाढै बस्न रुचाउने बिरेन्द्र र दिवाकर कसैलाई पनि बाँकी राखेन त्यो दिन नयाँ स्वादले । सर्विस गर्ने साथिहरुपनि कति खप्पिस । स्वागतको प्रक्रीया पनि पाहुना अनुसार फरक फरक । हासो मजाक पनि उत्तीकै। उहाँहरुको बिनम्रतालाई कोट्याउदै सोधि हाले । हैन साथि ग्राहक प्रति देखाउनु भएको अनुशाशित र मर्यादित वाताबरणले त हामीलाई पनि आफ्नो कर्म पर्ति बफादारको पाठ सिक्ने अवसर मिलिरहेको छ। मेरो सत्यतालाई ब्यङ्ग्यमा परिणत गर्दै भन्नु भयो । 'यति नगरे त कहाँबाट २-४ पैसा झदर्छ र हजुर' ।।



हुक्का चिलिमले


धर्धरि रुवाउछ की


माया पिरिमले...





त्सैपनि गाँउघरको परिबेशमा हुर्कीएको मान्छे माया पिरतीका नाममा प्रयोग गरीएको त्यो पुरानो गीत फेरि ताजगी भएर आयो मनमा। स्वाद मानेरै तानियो नकारात्मक असर र बेफाइदाको कुरालाई बिर्सेर । ब्लगको तारमा तैरीएको साइनोले पुर्णता पाएको यो अबिस्मरणिय दिनको सम्झनालाई अझ प्रगाढ बनाउन २- ४ प्रति फोटोको पनि आवस्यकता सम्झेर कैद ग-र्यौ क्यामरामा सम्झनाका डोबहरु । यसरी रम्दा रम्दै दिन बितेको थाहै भएनछ । बिहानै फेरि नुनको सोझो गर्न लाई जागीर गर्नै पर्ने । संगम जी लाई यो अ्मीट छापको डोबलाई चौतारीमा बिसाई साथिहरुमाझ पुरयाउने निम्तो दिएको थिए उहाँले पनि आफ्नो ब्यस्ततालाई थुपारेर मतिरै पन्छाइदिनु भयो। अन्त्यमा हाम्रो यो मित्रताको रमाइलो यात्रामा अर्धबिराम लागेपनि पुर्णबिराम चाहि नलागोस भन्दै बिदाईको हात हल्लाउदै बाटो ततायौ आ-आफ्नो । अफुर्सतका बाबजुत लत्पत्याउदै भएपनि टाँस्ने दुस्सहास गरे यो सम्झनाको दिनलाई । छोट्याउने कोशिस गर्दा गर्दै पनि अलि लामो हुन गयो । तपाइहरुलाई झर्को लाग्यो होला त्यस्को लागी क्षमा चाह्न्छु ।

यदि मित्रहरु तपाइहरुले पनि कतै हुक्का चिलिमको स्वाद लिनुभएको छ भने आफ्नो अनुभवलाई बाडन अवस्य भुल्नु हुने छैन भन्ने आग्रह गर्दछु ।

Tuesday, March 3, 2009

मेरी माया

प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया
चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया

खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि
नदि बनि दोभानमा भेटिदैछ मेरी माया

झुपडिको सपनाले महल चुम्न नसके पनि
बर्षौ लाको तिम्रो चोलि फेरिदैछ मेरी माया

तिम्रो साथ तिम्रो काख मिठो साग सिस्नु सम्झी
क्षितिजको कालो बादल फोडिदैछ मेरी माया

बियोगको भुत अब मिलन बनि बर्तमानमा
युगान्तकारि प्रेमकथा कोरिदैछ मेरी माया

Tuesday, February 24, 2009

अतित

छबिलाल न्यौपाने, अर्बेनि७,गुल्मी

अतित फेरि पाउने भए
आफै लाइ भुलि दिने थिए
आसुको मुल्य पाउने भए
सागर सारा भराइ दिने थिए
सपना को महल् सच्चा भै दिए
चन्द्रमा बनि उदाइ दिने थिए

तर

सकिन फेरि अतितलाइ भेट्टाउन
उ त सार्है टाढा पो पुगिसकेछ
दुई थोपा आशु पनि खशाल्न सकिन
आखा को आशु पो रित्तिसकेछ
चन्द्रमा बन्ने रहरमा रातको प्रतिक्षा गरे
तर औसीको रातले पो घेरिसकेछ


यस्तै यस्तै मेरा रहरहरु
अतित मा नै सबै सकिसकेछ
बिर्सन्छु भन्छु अतित का कथाहरु
झन पुरानो अनि आलो पो भै दिएछ
बिर्सनु परयो अबत यि ब्याथा र कथाहरु
जति सम्झियो उति लम्बिदो पो रहेछ
हाल - ksa , riyadh

Wednesday, February 18, 2009

संस्कार

मंसिरको महिना त्यसै पनि रमाइलो। त्यसमाथि जवानिको रसले भरिएका किशोर किशोरि हरुको जिवनको घडि साटासाट गर्ने महिना । धनमान दम्पतिले पनि घरमा उमेर पुगेर कुनै नयाँ जिवनसाथिको पर्खाइमा धपक्क बलेर बसेकी छोरि मनमायाको बारेमा सोचेर बसिरहेका थिए । पहिले देखि नै आफ्नो छर छिमेकमा निकै नाम, दाम अनि ख्याति कमाएर बसेकाले आफ्नो मुटुको टुक्रा जस्तो छोरि लाई जहाँ भन्यो त्यहि अन्माएर डोलि चढाउन चाहन्थ्ये । छोरि मनमायालाई माग्न धेरै ठाउबाट प्रस्ताव आएका थिए । सकेसम्म आफ्नो संस्कार र मुल्य मान्यता हरुको परिवेशमा हुर्किएको स्वच्छ छबिको ज्वाई हेर्ने चाहना थियो उनमा । नाम कहलिएका देखि उच्च धरानिया र प्रतिष्ठित ब्यक्तिहरु पनि उनको छोरि माग्न नाअएका होइनन तर धनमान दम्पतिले कुनै न कुनै खोट देखाएर फर्काइदिन्थे ।
यसपालि भने त्यस्तो भएन । धनमान सरकारि जागिर गर्ने हुनाले उनैको अफीसमा कतै बाट सरुवा भएर एकजना सुब्बा तहको र शारिरिक बनावट पनि निकै खाइलाग्दो भएको युबक आयो । उनले मनमनै बिचार गरे यो चाहि मेरो छोरिलाई सुहाउने केटा रहेछ । हुन पनि सुब्बा तहका रामनाथ हेर्दा निकै भलादमि असल र ईमान्दार देखिन्थे । आखिर २ महिनाको समय पश्चात दुबै पक्षबाट कुरा मिल्न गयो र माघमा बिबाह हुने तरिकाले तिथि मिथि तोकेर दुबै तर्फबाट बिबाहको लागि आ-अफ्नो तयारिमा दमदार जुटे ।
आज बिबाहको दिन । बेहुला पक्षको घर अलि टाढा भएको हुनाले बिबाहको लागि ठुलै होटेल् बुक गरिएको थियो । सबैतिर रंगि-बिरंगि प्रकासको अवतरण । आगन्तुक हरु पनि त्यहाको रमझम र उल्लासमय वातावरण देखेर छक्क परिरहेका थिए । सबैकुराको प्रबन्ध सकिएपछि होटेलको एउटा तलामा भोजनको कार्यक्रम भैरहेको थियो भने उतापट्टि बेहुलिका संगी साथिहरु मनमायालाई जिस्काउदै बसिरहेका थिए जे होस भोजनस्थलमा भैरहेको गतिबिधिलाई उनिहरुले नियाल्दै जन्तिहरु तर्फका केटाहरुलाई जिस्काउने गर्थे बेला बेलामा । भोजनको कार्यक्रममा सहभागी तरु- तरुनिहरु पनि भिन्न भिन्न किसिमका ब्यक्ति हरु थिए । बिभिन्न प्रकारका मासुका परिकार हरु संगै सफ्ट ड्रीङ्स देखि लिएर हार्ड ड्रीङ्स सहित आधुनिक खानपानको ब्यवस्था थियो त्यहाँ । भोज सुरु भयो सबै आ-आफ्नो गतिबिधिमा प्रस्तुत भै रहे । यता बेहुला बनेर गएका रामनाथलाई भित्र-भित्रै असजिलो महशुस भैरहेको थियो । लोकगीत र भजनको धुनमा रमाउने रामनाथलाई पप र रकको कर्णभेदि आवाज र आखै तिर्मिराउने प्रकासका किरणहरुले असहज बनाइरहेको छ । मनमा सन्तुस्ष्ट नभएपनि त्यो वातावरणमा उसले सम्हालीरहेको छ आफुलाई ।
भोज कै क्रममा एकजना गगल्स धारि युबकले रामनाथको आगाडि बियरले भरिएको गिलास राखिदियो । रामनाथ कालो हुदै भन्यो "हजुर मेरो पिउने बानि छैन"।
हावामा चुरोटको धुवाँ ब्वाङ्ग उडाउडै आइरहेकी अर्कि युबतिले तुम्बा र तिनपानिको गिलास राख्दै अदवका साथ भनि 'यो हजुरको लागि सर' । रामनाथले अस्विकार गर्दै भन्यो "म शुद्द् शाकाहारि हु चल्दैन हजुर परै राख्नुस" ।
फेरि हातमा रक्सीको गिलास समाउदै आएको अर्को ब्यक्तिले चुरोट टक्रयाउदै भन्यो 'हजुर लिनुस' । रामनाथ आबेशमा आएर प्रतिवाद गर्दै भन्यो "मेरो चुरोट पिउने बानि छैन" ।
उता अर्को कोठाबाट बेहुलाको चरित्र र गतिबिधिलाई नियालीरहेकी मनमायाले एक्कासि कालिमाइले झै रणचण्डि भएर अक्समात बेहुलाहरुको भोजनकक्षमा कराउदै प्रबेश गरिन र भन्न थालिन । "ओ सुब्बा साब, यस्तो अदभुत स्वभाव र सत्ययुगको संस्कार लिएर तिमि कुन ग्रहबाट आएको ? केहि पनि नचल्ने कस्तो बानि तिम्रो ? तिमि जस्तो नामर्द संग मेरो बिबाह हुन सक्दैन । ड्याडि यो बिबाह यहि समाप्त गर्नु होस । म यो संग जिवन बिताउन सक्दिन' । आफ्नो हुनै लागेको जिवनसाथिको यस्तो कुरा सुनेर रामनाथको मुख चुक जस्तै कालो र अमिलो भयो । मुखबाट कुनै वाक्य नै फुटेन झट्ट कोठाबाट निस्किदै पछडि हेर्दै नहेरि सरासर बाटो लाग्यो । बिबाहमा सरिक युबायुबतिहरुले खुसि र उमंगका साथ सिट्टि र ताली बजाउदै वरपर नै थर्किने गरि हाँसेर मोज मस्ति गरिरहे ।

Tuesday, February 10, 2009

गजल

हुन त गजल लेख्ने मेरो पुरानो बानि चाहि होइन तर पनि ब्लगिङको सुरुवात संगै साथिहरुको हौसला र प्रेरणाबाट प्रभाबित भएर खुट्टा लरबराउदै भएपनि हिडिराखु जस्तो लागिरहेछ यो यात्रामा । खासगरि गजलमा हुनुपर्ने गुण र मर मसलाहरुको समीश्रणमा दर्शाउनुपर्ने बिधाको बारेमा पुर्णतया जानकारी नभएको हुनाले यो गजल पस्केको छु तर योपनि लाग्दैनकी गजलको निश्चित बिधा छ भनेर त्यसैलेअरु थप सरसल्लाहको लागि तपाइहरुको जोसिलो कलमको अपेक्षा



सज्जनलाई ठाउ छैन यत्रतत्र जालीहरु
पथभ्रष्ट भएपछि देश हाक्ने मालीहरु

अन्यायको बिरुद्धमा हात जोडदै हिडेपनि
न्याय छैन पाइन्छ यहाँ मुटु घोच्ने गालीहरु

गरिबिको छाति माथि पजेरोको पाङ्ग्रा गुडदा
बिरोध हैन देखिराछ स्वागतका रयालीहरु

झुपडिका आशाहरु महल् सम्म पुरयाए नि
बर्षौ भयो नछाएको पानि चुहिने पालीहरु

रोप्न खोजे नयाँ फुल बिहानिको झुल्के घाममा
कोपिला नै निमोठेर जरा काटछन खाली अरु

प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको नारा बेच्दै
अखण्डतालाई खण्ड पार्न छुटयाउडैछ्न थालीहरु

बलिदान र समर्पणको मुल्य चाटने भोगीहरु
निमोठदैछन देशप्रेम् र राष्ट्रीयताका बालीहरु

शहिदको रगतलाई फुलमाला मै सुकाइराखी
कहिलेकाहि ठोक्ने गर्छन् जबरजस्ति तालीहरु

कसैलाई भाषा देश कसैलाइ हिमाल तराई
पाइदैन की नेपाली भन्न डरै पो लाग्यो साथीहरु

Tuesday, February 3, 2009

संगै जिउन मर्न हुन्थ्यो.....


मनमा माया राखे देखि एकपटक हेर्न हुन्थ्यो
मृगतृष्णा यो मनको नजरबाटै फेर्न हुन्थ्यो

मित्रताको सम्बोधनमा प्रतिउत्तर पाइन मैले
शिरमोडि फर्किदिए आखै भित्र बेर्न हुन्थ्यो

चिनजान गर्न आतुर छु म बेवास्तामा कति बस्नु
ममताको रस छर्की आफन्तमै जोडन हुन्थ्यो

मनै भरि माया राखि ओठभरि खुसि दिए
जन्ति लगि आगनभरि पन्चे बाजा घेर्न हुन्थ्यो

प्रमोद भै पछयाउदै छु तिम्रो मैत्रीभाव आज
पाए साथ तिमि बाट प्रेम पत्र कोर्न हुन्थ्यो

एकान्त यो गोरेटोमा मस्की मस्की हिडनेलाई
ममताको रस छर्कि आफन्त मै बेर्न हुन्थ्यो

हिडु कति पछ्याउदै एक हातले तालि पिटदै
दुई आत्माले खोज्ने भए संगै जिउन मर्न हुन्थ्यो


प्यारा ब्लगर मित्रहरु, गजल त जानि नजानि लेखिहाले तर भनेजस्तो शिर्षक जुराउन चाहि सकिन । त्यसैले उचित शिर्षकको लागि तपाइहरुको सहयोगको अपेक्षा राखेको छु ।